Media Network

लिङ्देनसँग हारेपछि कमल थापाले सम्झिए पुरानो गीत- यसपालि त मनै फाट्यो...


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले एउटा पुरानो गीत सम्झिएका छन् ।

अध्यक्षमा निर्वाचित लिङ्देनले प्रमाणपत्र लिइरहेका बेला थापा भने ट्वीटमा सक्रिय थिए ।

उनले राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गरेका छन् । साथै यो गीतमा अरूणा लामाको आवाज रहेको छ ।

"मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो, पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो?"

आजको मतपरिणामअनुसार राजेन्द्रले १ हजार ८ सय ४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए भने थापाले जम्मा १ हजार ६ सय १७ मत ल्याएका थिए । जसमा ४ सय १३ मत बदर भएको हो ।

अध्यक्ष पदमा पराजित भएपछि थापाले लगातार ट्वीट गरिरहेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहप्रति पनि उनले रोष प्रकट गर्दै पूर्वराजाले हराउन भूमिका खेलेको आरोप पनि लगाएका छन् । 

थापाले ट्वीटमा मेन्सन गर्दै  २०६३ देखि शिरमा कफन बाँधेर राजतन्त्र बोकेर हिँडेकोमा आज पुरस्कार पाइयोसमेत भनेका थिए । पूर्वराजा र हिमानीका नाममा रहेका ती अकाउन्ट उनीहरूले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन नभइएपनि ती ह्यान्डलमा थापाले मेन्सन गर्दै लगातार रोष व्यक्त गरिरहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद