काठमाडौँ । तीन वर्षअघि ७९ सालको निर्वाचनबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी ८२ सालको निर्वाचनबाट समाप्त भएको छ ।
जनमतले अघिल्लो निर्वाचनमा एक प्रत्यक्ष र समानुपातिक तर्फ ५ सिट हात पारेको थियो । पार्टी अध्यक्ष सीके राउत आफैले मधेसको मसिहा ठान्ने उपेन्द्र यादवलाई पराजित गरेका थिए । यादवलाई पराजित गरेर मधेसको मात्र नभई राष्ट्रिय राजनीतिमै उदाएको राउत नेतृत्वको पार्टी हालै सम्पन्न निर्वाचनबाट समाप्त भएको छ ।
यस पटक पनि सप्तरी क्षेत्र नम्बर २ बाट उठेका राउत जसपाकै उमेशकुमार यादवलाई समेत जित्न सकेनन् । यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव २८ हजार ४ सय ४ मत ल्याएर विजयी हुँदा तेस्रो स्थानमा रहेका सीकेले ९ हजार ८ सय ८० मत मात्रै प्राप्त गरे ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट पनि हात पार्न नसकेको जनमत पार्टीले समानुपातिकतर्फ पनि थ्रेस होल्ड पार गर्न सकेन । एक लाख मत पनि ल्याउन नसकेको जनमत पार्टी समानुपातिकको सूचीमा नवौं स्थानमा रह्यो ।
जेनजी आन्दोलन पछि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ सिट प्रत्यक्षसहित समानुपातिकतर्फ ३ लाख ७० हजार पार गरि संसदको पाँचौं राष्ट्रिय दल बन्दा राप्रपा छैठौं दल बन्यो । मधेसवादी दल जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले १ लाख ७० हजार पार गरे पनि थ्रेस होल्ड कटाउन सकेन ।
यस्तै, जेनजी आन्दोलनपछि स्थापना भएको अर्को दल राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिक मतमा एक लाख ६८ हजार पार गर्यो ।
जेनजी आन्दोलनमा सांसदबाटै राजीनामा
जनमत पार्टीका अध्यक्ष राउतले भदौ २४ गते देशभर आगजनी तोडफोड र ध्वंस मच्चिएपछि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई पत्र पठाएर उनले पदबाट राजीनामा दिएका थिए ।
देशको वर्तमान आन्दोलन र अवस्थालाई ‘नौलो गणतन्त्र’ले मात्र सम्बोधन गर्न सक्ने आस्थाका साथ आफूले पदबाट राजीनामा दिएको राउतले राजीनामा पत्रमा उल्लेख गरेका थिए ।
२०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ को नाम परिवर्तन गरी राउतले जनमत पार्टी बनाएका थिए । स्वतन्त्र मधेस गठबन्धनको नामबाट सीकेले विखण्डनको नारा अघि सारेर स्थापित भएका थिए ।
गत निर्वाचनमा भाग लिएर मधेशको बलियो शक्तिको रुपमा आफूलाई उभ्याउने प्रयत्न गरेको जनमतको पछिल्लो समय आन्तरिक किचलोमा फस्दै गएको थियो । भदौको जेनजी विद्रोहअघि नै जनमत पार्टी तीन समूहमा विभाजन भएको थियो ।