Media Network

मन्त्री हेरफेर गर्न खोज्दा एकीकृत समाजवादीमा भूकम्प


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । नेकपा (एमाले)बाट अलग भई नयाँ पार्टी बनाएर सरकारमा सहभागी माधवकुमार नेपाल पार्टीभित्रै गम्भीर संकटमा परेका छन् । सबैलाई लाभको पद दिएर पार्टीमा भित्र्याएका नेता नेपालले केहीलाई आलोपालो मन्त्री बनाइदिने आश्वासन दिएका थिए । 

६ महिनाका लागि मन्त्री बनाइदिने आश्वासन पाएर पार्टी प्रवेश गरेका केही नेता अहिले पनि मन्त्री छन् भने केहीलाई मन्त्री बनाउने पालो आइसकेको छ । केही नेता पार्टीलाई मोटो रकम बुझाएर मन्त्री बनेका थिए भने नेता मन्त्री पाएकै कारण पार्टीमा अडिएका छन् । 

आलोपालो मन्त्री बन्ने पूर्वसहमतिअनुसार नै मन्त्री बनेका चार जनालाई मन्त्रीबाट फिर्ता गरेर अन्य चार जनालाई मन्त्री बनाउने भनी नेता नेपालले सचिवालयबाट निर्णय गराएका थिए । 

मन्त्रीबाट हटाए पार्टी छाड्ने चेतावनी

चार नेतालाई मन्त्रीबाट फिर्ता बोलाउने र अन्य चार जनालाई सरकारमा पठाउने निर्णयलगत्तै एकीकृत समाजवादीभित्र भूकम्प नै गएको छ । पूर्व सहमतिअनुसार नै पार्टी सचिवालयले मन्त्रीबाट फिर्ता गराउने निर्णय भएपछि समाजवादीबाट मन्त्री बनेका सबैले असन्तुष्टी जनाएका छन् । 

आइतबारको सचिवलायको बैठकको निर्णय सार्वजनिक भए लगत्तै केहीले माधव नेपाललाई भेट गरी पार्टी छाड्ने चेतावनी दिएका थिए । पार्टी स्रोतकाअनुसार पर्यटनमन्त्री प्रेम आलेले आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने चेतावनी दिए । पार्टीबाट श्रम तथा रोजगारमन्त्री रहेका कृष्णकुमार श्रेष्ठ (किसान) पनि मन्त्री पाएकै कारण नेपाल नेतृत्वको पार्टीमा अटाएका हुन् । मन्त्रीबाट हटाइए लगत्तै पार्टी छाड्ने चेतावनी मन्त्री श्रेष्ठलेसमेत दिँदै आएको स्रोतको भनाइ छ ।  

पार्टीकै प्रतिवद्ध मानिएर पदाधिकारीभित्रैका पनि मन्त्रीबाट हटाउने निर्णयप्रति रुष्ट बनेका छन् । पार्टीको निर्णय लगत्तै पर्यटनमन्त्री आले र स्वास्थ्यमन्त्री विरोध खतिवडा नेता नेपाललाई भेट्न पुगेका थिए । अध्यक्ष नेपाललाई भेट गरेर फर्किएपछि स्वास्थ्यमन्त्री खतिवडाले मन्त्री हेरफेरको विषयमा पार्टीमा कुनै पनि निर्णय नभएको दाबी गरे । 

तत्कालिन एमालेमा अन्तरसंघर्ष चुलिएकाबेला नयाँ पार्टी गठन गर्नका नजिकबाट सघाएकी रामकुमारी झाँक्री सहरी विकास मन्त्री छिन् । नेकपा (एस)की सचिवसमेत रहेकी मन्त्रीबाट फिर्ता गराउने सचिवालयको निर्णयप्रति झाँक्रीलेसमेत असन्तुष्टी जनाइन् । उनले आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएकी थिइन् । 

एकीकृत समाजवादीको सचिवालय बैठकले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पार्टीभित्रको संकट टार्न देउवालाई हारगुहार

समाजवादीले चारमन्त्रीलाई फिर्ता गर्दै नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री र मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा सिफारिस गर्यो ।  

यस्तै, समाजवादीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । 

सत्ता गठबन्धन दलको निर्णयपछि सोमबार नै नयाँ मन्त्रीलाई सपथ गराउने सरकारको तयारी थियो । तर दलभित्र चर्को असन्तुष्टी बढेर हलचल मच्चिएपछि नेकपा एसका अध्यक्ष नेपाल पार्टीले गरिसकेको निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी केही समय पर्खिन आग्रह गरे । 

सोमबार नै सत्ता गठबन्धनको बालुवाटार बैठकबाट नेता नेपालले बजेट पास गर्नेबेलामा मन्त्री हेरफेर नगर्ने निर्णय प्रधानमन्त्री देउवाबाट गराउन सफल भए । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने मन्त्री हेरफेरको निर्णयमा पार्टी दृढ रहेको तर अहिले कार्यान्वयन नहुनु बालुवाटारको कुरा भन्दै आफू पन्छिन खोजे । 

खनालले आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको भन्दै त्यो निर्णय कार्यान्वयन हुने दाबी पनि गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद