Media Network

मन्त्री हेरफेरबारे विवाद चुलिपछि एकीकृत समाजवादीको बैठक बस्दै


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ। शनिबार र आइतबार गरि दुई दिनसम्म चल्ने बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल हुने एक नेताले बताए। 

एकीकृत समाजवादीले पार्टीबाट प्रतिनिधित्व गरेर मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरिसकेको छ। तर, पार्टीको निर्णय अव्यावहारिक भएको भन्दै मन्त्रीसहित केही सांसदहरु आक्रोशित भएका छन्। चार मन्त्रीसहित १० सांसदले नयाँ मन्त्रीहरुको अनुहार समावेशी नभएको, एकै जिल्लाका दोहोरिएको र गैरसांसदलाई मन्त्री बनाउन खोजिएको आरोप पनि लगाएका छन्। 

पार्टीका आधा सांसद आफूहरूसँग रहेको सन्देश दिएर उनीहरूले अध्यक्ष माधव नेपाललाई निर्णय पुनर्विचार गर्न दबाब दिएका छन्। साथै, तत्काल संसदीय दलको बैठक बोलाउन आग्रह गरिएको छ।

हस्ताक्षर गर्नेमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरादेवी जैरु छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद