उनले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्ने, किसान सुरक्षा कार्यक्रमअन्तर्गत किसानलाई पेन्सन प्रदान गर्नका लागि सूचीकरण गर्न बजेट विनियोजन गरिएको स्पष्ट पारे । गहुँ, कुखुराको मासु र अण्डामा अहिले करिब आत्मनिर्भरको अवस्था रहेको बताउँदै मन्त्री यादवले आगामी दुई वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम प्रस्ताव गरिएको बताए ।
पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षकारुपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृहमन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराए । उनले आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार उखुको मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाइसकेको स्पष्ट पार्दै मलखादको वितरणलाई पारदर्शी बनाउनका लागि अनलाइनको व्यवस्था गर्न निर्देशन गरिसकेको समेत बताए ।
स्वदेशमै रासायनिक मल कारखाना कहिले स्थापना हुन्छ भन्ने विज्ञासामा उनले त्यसका लागि बजेट छुट्याइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित भएको साथै लगानी बोर्डमासमेत छलफल अघि बढेको स्पष्ट पारे ।