माओवादी अध्यक्ष प्रचण्डले सोमवार काठमाडौैंस्थित पार्टी कार्यालय पेरिशडाँडामा पत्रकार सम्मेलन गरी आफू उपेन्द्र यादव र बाबुराम भट्टराईसँग राम्रो कुराकानी भइरहेको बताए । उनले निर्वाचनमा तालमेल गर्ने कुरामा यादव र भट्टराईसँग सौहाद्रपूर्ण कुरा भइरहेको बताए ।
सत्ता गठबन्धन पाँच दलबीच चुनावी तालमेल गरी अघि बढ्ने तयारीकाबीच प्रचण्ड उपेन्द्र–बाबुरामसँग नजिकिएका हुन् । सिट बाँडफाँडमा कुरा नमिल्ने अवस्था भएकाले प्रचण्ड जसपासँग नजिकिएको स्रोतको भनाइ छ ।
पत्रकार सम्मेलनमा भने प्रचण्डले पाँच गठबन्धन मिलेरै जाने दाबी गरे । प्रचण्डले आफूहरुको गठबन्धन परिवर्तन पक्षधर भएको दाबी गर्दै एमालेको गठबन्धनलाई होलीवाइनको संज्ञा दिए । एमाले राप्रपा नेपालसँग मिलेर चुनावमा जान लागेको विषयलाई उल्लेख गर्दै प्रचण्डले उनीहरु गणतन्त्र विरोधी गठबन्धन भएको आरोप लगाए ।