Media Network

माओवादी जनप्रतिनिधिहरुलाई ‘सरकार चलाउने’ तालिम !


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिलाई बुधबारदेखि तालिम दिने भएको छ ।

स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका कस्तो रहने भन्नेबारेमा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागेको हो । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । तालिममा सहभागी हुन देशैभरका पार्टीबाट निर्वाचित प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । 

स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा पार्टी निकट विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । काठमाडौंको कमलपोखरीस्थित पुरानो कुमारी हलमा बुधबारदेखि सुरु हुने तालिम विहिबार सकिने छ । कार्यक्रमको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । 

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्व स्थायी समिति सदस्य सहभागी हुनेछन् । 

पार्टीका शीर्ष नेता, संघीयताविद, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासक लगायतले सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद