Media Network

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर हालसम्म पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

त्यस्तै, माओवादी केन्द्रको गत पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । तर केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।

बैठक प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद