Media Network

माओवादी पदाधिकारी आज घोषणा, केन्द्रीय समिति बैठक आजै सकिने


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बुधबार घोषणा गरिने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको १५ सदस्यीय पदाधिकारी आज घोषणा गर्न लागेका हुन् । 

वैठकमा उठेका प्रश्नहरुको प्रचण्डले जवाफ दिएपछि पदाधिकारी घोषणा गर्दै मंगलबार नै बैठक सम्पन्न गर्न भनिए पनि महासचिवमा कुरा नमिल्दा एक दिन बैठक लम्बिएको हो । 

दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिने र पदाधिकारी घोषणा गर्दै बैठक सम्पन्न हुने सो पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । 

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार छलफल गरी पदाधिकारीको नाम सबै टुंग्याइसकेका छन् । बैठकमा पेश गर्ने र ताली बजाउने काम मात्रै बाँकी रहेका एक नेताले बताए । 

पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको भन्दै नेता दिनानाथ शर्माले त्यसअनुसार अध्यक्षले आजको बैठकमा पेस गर्ने जानकारी दिए । 

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान अनुसार माओवादीमा एक अध्यक्ष, बरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । 

पार्टी बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको थियो । बैठकमा केन्द्रीय सदस्य थपिएकोबारेमा नेताहरुले निकै आलोचना र घोचपेच गरेका थिए । नेताहरुले धारणा राख्ने क्रममा पार्टीले दश ठाउँ चहारेर आएकाहरुलाई केन्द्रीय सदस्य बनाइएकोदेखि पार्टी भ्रष्टहरुको अखडा भएकोसम्म गुनासो गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद