Media Network

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो, दिउँसो १ बजे बस्ने


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए । 

बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने नेता गुरुङले न्युज कारखानासँग बताए ।  नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो ।  बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ । 

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । 

शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद