काठमाडौं । आइतबार प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको छ । सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै माओवादी केन्द्रका ५ जना सांसदहरुले संसदको सो बैठक बहिष्कार गरेका छन् ,भने दुई सांसदले एमसीसीको विपक्षमा मत ब्यक्त गरेको भेटिएको छ ।
माओवादीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल लगायत नेताहरुले एमसीसी अनुमोदन गराउने पार्टी निर्णयमा विमति जनाएका छन् ।माओवादी केन्द्रले सम्झौतामा उठेका कतिपय प्रश्नलाई संसदवाटै १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।
जसमा फरक मत राख्दै उनीहरुमध्ये केहि सांसदहरुले बैठक नै बहिष्कार गरे भने केहिले त्यसको विपक्षमा मत व्यक्त गरे।पूर्व सभामुख समेत रहेका कृष्णवहादुर महरा, नेतृ जयपुरी घर्ती, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी र अमृता थापा ५ जना सांसदले आइतबारको संसद बैठक नै बहिष्कार गरेका थिए ।
एमसीसीको पक्षमा आफुहरु नरहेको भन्दै उनीहरुले बैठक नै वहिष्कार गरेका थिए ।त्यस्तै दुई सांसदहरु गिरिराजमणि पोखरेल र अन्जना विशंखेले भने बैठकमै उपस्थित भएर विपक्षमा मत जाहेर गरे ।
माओवादीले ब्याख्यात्मक घोषणा सहितको एमसीसी अनुमोदन गर्ने विषयको पक्षमा मतदान गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक र संसदीय दलको बैठकबाट माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई एमसीसीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।उसले सांसदहरुलाई मोवाइल एमएमएसमार्फत पक्षमा मतदानको लागि अपिल गरेका थिए ।नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ सुरुदेखि नै एमसीसीको विपक्षमा रहेतापनि अन्तत् उनले पक्षमा नै मतदान गरेका थिए ।