Media Network

माओवादीले मास नउतार्ने, प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

आसन्न निर्वाचनलाई केन्द्रित गर्दै राजनीतिक दलहरुले शक्ति देखाउने होडबाजी गरिरहँदा माओवादी भने काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको हो । 

चितवनमा हालै एमालेले दशौं राष्टिय सम्मेलनमा लाखौं मान्छे उतारेपछि कांग्रेसले पनि आसन्न १४ औं महाधिवेशनमा आफ्नो सामथ्र्य देखाउने तयारी गरिरहेको छ । तर माओवादी केन्द्रले भने शक्ति प्रदर्शन गर्ने सामथ्र्य नराखेपछि राष्ट्रिय सम्मेलन प्रज्ञा भवन भित्र गर्ने निर्णय गरेको हो । 

आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनको हलमा प्रतिनिधिमुलक सम्मेलन गर्ने पार्टी स्थायी समिति बैठकले निर्णय गरेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले बताए । नेता पोखरेलकाअनुसार सम्मेलनमा पन्ध्र सोह्र सय प्रतिनिधि उपस्थिति हुनेछन् । 

हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५ सय पुगेको माओवादीले दाबी गरेको छ । पार्टी सदस्यहरुको नामावली डिजिटल प्रविधिबाट समाविष्ट गरिएको माओवादी केन्द्रले जनाएको छ ।  स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद