काठमाडौं । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा सोमवार जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अपिल अनुरोध गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ ।कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ ।
एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।