माधव नेपालदेखि राजीव खत्रीसम्म उजुरी, जाँचबुझ गर्दै आयोग


खबरस्टोरी संवाददाता
८ माघ २०८२, बुधबार
माधव नेपालदेखि राजीव खत्रीसम्म उजुरी, जाँचबुझ गर्दै आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मनोनयन दर्ता गरेका प्रत्यक्षतर्फका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा गरि तीन हजार ४८६ उम्मेदवारको मनोनयन भएको थियो । निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो । 

आयोगका अनुसार, भक्तपुर–२ मा दुई वटा र सुनसरी–२,  रौतहट–१ र कैलाली–१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएको छ । भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका (शोभा) पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधवकुमार नेपाल र कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।  

निर्वाचन तालिकाअनुसार माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । 

सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन चिन्ह प्राप्त गरेपछि स्वतन्त्र उम्मेदवारहरु पनि प्रचार प्रसारमा जुट्नेछन् ।