काठमाडौं । संशोधन बिना अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अस्वीकार गर्ने अडानमा लिएका सत्ता गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो बनेका छन् ।
गठबन्धन टुटाएर भए पनि एमसीसी संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा नेतृत्वको पार्टी नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिएपछि सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका हुन् ।
बरु एमसीसी अघि बढाउन दिने तर सत्ताबाटै बाहिर र कांग्रेसको साथ छोड्न नहुने निश्कर्षका साथ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन तयार भएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालबीच शनिवार राति भएको खुमलटार वार्तापछि ‘गठबन्धन जोगाउन’ भए पनि ‘व्याख्यात्मक घोषणा’मार्फत एमसीसी अनुमोदन गराउनु पर्ने निष्कर्षमा पुगेका हुन् ।
अघिल्लो निर्णय उल्ट्याउँदै एकीकृत समाजवादी
यसअघि एमसीसीको विपक्षमा रहने निर्णय गरेको नेकपा एस स्थायी समितिको अघिल्लो निर्णय उल्ट्याउन सचिववालय बैठक बस्दैछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएका छन् ।
गठबन्धनको बैठकपछि माओवादीले पूर्वस्थायी समिति सदस्यको विस्तारित बैठक तथा नेकपा (एस)ले सचिवालय बैठकमार्फत पार्टी धारणा बनाएर प्रतिनिधिसभा बैठकमा उपस्थित हुनेछन् ।
परिमार्जन र संशोधन बिना एमसीसी पारित नगर्ने अडान राख्दै आएका जसपा अध्यक्ष यादव पनि जारी कार्यकारिणी समितिको बैठकमा एमसीसीका वकालत गर्दै आएका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षधरवाट ‘अल्पमत’ मा परेपछि ‘व्याख्यात्मक घोषणा’मार्फत एमसीसी अनुमोदन गराउन सहमत भएपछि खुमलटारमा वार्ता भएको हो ।
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द बन्दीको नेतृत्वमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।
गठबन्धन लचिलो देखिएपछि प्रधानमन्त्री ‘उत्साहित’
संशोधन र परिमार्जन बिना एमसीसी अनुमोदन हुनै नसक्ने बताउँदै आएका सत्ता गठबन्धनका सहयोगी दलहरु नै ‘व्याख्यात्मक घोषणा’मार्फत जान ‘युटर्न’ भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा उत्साहित देखिएका छन् ।
आफ्नै गठबन्धनका दल असहयोगी देखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर संवादमा रहेका प्रधानमन्त्री देउवा शनिबार बाालकोटसमेत गएनन् भने बालकोट गएका नेताहरु पनि छलफल थाती राखेर फर्किएका थिए ।
एमसीसीको व्याख्यात्मक ड्राफ्ट तयार गरिँदै
सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् ।
कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।