नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०८२, मंगलवार
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार दिउँसो काठमाडौंको टेबहालबाट बास्तोलालाई पक्राउ गरेको हो ।

नेकपा बहुमतले निर्वाचनको विरोध गर्दै फागुन ५ गते नेपाल बन्दको आह्वान समेत गरेको थियो । बन्द आह्वान गरेकै दिन पार्टीको नेतृत्व लिइरहेका बास्तोलालाई निर्वाचन बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएको भन्दै पक्राउ गरेको हो । सो पार्टीका अन्य नेताहरू पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । बहुमतसहित सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, लगायतका दलहरु पनि निर्वाचन बहिष्कारको घोषणा गर्दै निर्वाचन विरोधी गतिविधि गर्दै आएका छन् । बहुमत सहितका दलहरुले निर्वाचन विरुद्ध संयुक्त संघर्ष समिति नै बनाएका छन् । उनीहरुले सामाजिक सञ्जालहरुबाट पनि निर्वाचन विरुद्ध अभियान चलाइरहेका छन् । 

यसअघि निर्वाचन सम्बन्धी अफवाह फैलाएको आरोपमा सोमवार राती मात्रै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवम् मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँलाई जिल्ला प्रशासनले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्न चुनावविरोधी गतिविधिमा संलग्नमाथि कारबाही थालिएको जनाइएको छ । पुस ५ गतेबाटै नेपाली सेनाको साथै निर्वाचन प्रहरी पनि सडकमा निस्किएका छन् ।