नेकपा एसका अध्यक्ष पोख्रेलद्वारा पार्टी परित्यागको घोषणा


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
नेकपा एसका अध्यक्ष पोख्रेलद्वारा पार्टी परित्यागको घोषणा
हेटौंडा। नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएकोले पार्टी परित्याग गरेको बताएका छन् । निर्वाचन पश्चात देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन् । उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।