नेकपाको चुनावी प्रतिबद्धता पत्रः हरेक वर्ष ५ लाखलाई रोजगारी


खबरस्टोरी संवाददाता
२८ माघ २०८२, मंगलवार
नेकपाको चुनावी प्रतिबद्धता पत्रः हरेक वर्ष ५ लाखलाई रोजगारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । नेकपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा हरेक वर्ष ५ लाख नेपालीलाई रोजगारी प्रदान गर्नेदेखि सुशासनको प्रतिवद्धता जनाएको छ । 

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ । 

‘लोकतान्त्रिक शासन प्रणालीको आधार ः जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ । 

दश प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य 

नेकपाले पार्टीको चुनावी घोषणापत्रमा दश प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक अवस्था बदल्ने संकल्प गरेको छ । प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ ।

५ वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने लक्ष्य नेकपाले चुनावी घोषणापत्रमा गरेको छ । हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने योजना छ । प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने र वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने नीति लिइएको छ ।

भ्रष्टाचार नियन्त्रणः सुशासनको ग्यारेन्टी

जेनजी आन्दोलनपछि हुन लागेको चुनावमा नेकपाले सुशासनको एजेण्डालाई प्रमुख मुद्दा बनाएको छ । उनले सुशासनलाई पार्टीको मुख्य प्रस्थानविन्दु मानेको छ । सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने नेकपाको प्रतिवद्धता छ । 

नेकपाको नजरमा कांग्रेस–एमाले यथास्थितिवादी, नयाँ विध्वंशकारी 

नेकपाले प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा चुनावी प्रतिस्पर्धालाई चार प्रकारका शक्तिमा वर्गीकरण गरेको छ । 

पहिलो क्रान्तिकारी शक्ति ः नेकपा मात्रै हो, जसले समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अँगालेको छ ।

दोस्रो यथास्थितिवादी शक्ति ः नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधित्व गर्छन्, जसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत गरेका छैनन्, उनीहरू यथास्थितिमै रहन चाहन्छन् ।

तेस्रो पपुलिस्ट शक्ति ः आफूलाई नयाँ भन्ने तर सिद्धान्त र दृष्टिकोणविहीन, २०७४ को विध्वंस मच्चाउने तत्वसँग जोडिएको शक्ति हो, जसले देशका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन । नेकपाले यसरी व्याख्या गरेको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी हो ।

चौथो प्रतिगामी पुनरुत्थानवादी शक्ति ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो, जसले जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको राजतन्त्र फर्काउन चाहन्छ, यो देशलाई अगाडि होइन पछाडि धकेल्ने चालबाजी मात्र हो । राप्रपालाई प्रतिगामी शक्ति भन्दै राजतन्त्र फर्काउने प्रयासलाई देशलाई पछाडि धकेल्ने चालबाजी भनेको छ ।