Media Network

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७२ वर्ष पूरा भएको छ । वि.स.२००६ साल वैशाख ९ गते अर्थात अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । लेनिनको जन्मदिवसका दिन पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् । उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना अप्रिल २२ मा कम्युनिस्ट स्थापना दिवस मनाउँदै आएका छन् । 

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट आन्दोलनको स्मरण गरेका छन् । ७२ वर्षको यो अवधिमा नेपाली कम्युनिस्ट आन्दोलन एकता, सङ्घर्ष, रुपान्तरण र नयाँ आधारमा उच्चस्तरको एकता वा फुटका विभिन्न श्रृङ्खला पार गर्दै अघि बढेको वैद्यको विज्ञप्तिमा उल्लेख छ । 

‘यस बीचमा नेपालमा जनआन्दोलन, जनयुद्ध तथा विभिन्न प्रकारका सङ्घर्षहरु भए, नेपाली जनताले जनमुक्ति सेनाको संरक्षणमा जनसत्ताको अभ्यास पनि गरे तर पनि देशलाई अर्ध–सामन्ती र अर्ध तथा नव–औपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फको मार्ग प्रशस्त हुन सकेको छैन ।’– वैद्यले भनेका छन् । 

वैद्यले नेपालका कथित कम्युनिस्टहरुका बहुमत रहेको र उनीहरुबाट नै ठूला ठूला राष्टघात भएको बताएका छन् । 

‘नेपालको संसदमा कथित कम्युनिस्टहरुको बहुमत रहेको छ । कहिले एकल त कहिले गठबन्धन गरी कम्युनिस्टहरु सरकारमा रहँदै आएका छन्’, वैद्यले भनेका छन्, ‘तर विडम्बना ठुला–ठुला राष्ट्रघात र जनघात कम्युनिस्टहरुकै नेतृत्व वा सहयोगमा हुने गरेका छन् । नामधारी कम्युनिस्टहरु कै पहल र सहयोगमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन भएको छ ।’

यसैगरी स्थापना दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले  शुभकामना दिएका छन् । ‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उनले भनेका छन् ।

यसैबीच, कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टीको नयाँ कार्यालय उदघाटन र पार्टीको स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दैछ । 

कम्युनिस्ट स्थापना दिवसमा मोहन वैद्यको विज्ञप्तिः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद