Media Network

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : भारतीय नेताहरु


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र  हृदयबीच गहिरो सम्बन्ध रहेको बताएका छन् ।  

नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै  भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरे । 

उनले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पुर्याउने विश्वास दिलाए । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उनको भनाइ थियो । उनले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताए । उनले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पुर्याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गरे ।

नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै  यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गरे । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद