काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ ।
यसअघि एमसीसी संसदमा टेबल गर्न नरोक्ने तर एमसीसीको विपक्षमा रहने निर्णय अघिल्लो शनिवार एकीकृत समाजवादीको स्थायी समितिको बैठकले गरेको थियो ।
एमसीसी अनुमोदन गराउनका लागि गठबन्धन टुटाएर एमालेको शर्त मानेर अघि बढ्नसमेत प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपछि सत्ता गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले यसअघिको निर्णय उल्ट्याउन खोजेको हो ।
आगामी निर्वाचनसम्म नै गठबन्धन कायम राख्नका लागि एमसीसी संसदबाट अनुमोदन गर्नबाटसमेत नरोक्ने निश्कर्षमा पार्टी अध्यक्ष माधव नेपाल पुगेका छन् । जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहमत छन् ।
सत्तारुढ गठबन्धन एमसीसीबारे ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।