देउवा नेतृत्वको सरकारलाई माओवादीसहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । देउवा नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रबाट पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराज मन्त्री छन् भने बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री छिन् ।
वर्तमान मन्त्रिपरिषदका ऊर्जामन्त्री पम्फा भुसाल र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो अन्तरिम मन्त्रिपरिषद्मा पनि सहभागी थिए । अन्तिम मन्त्रिपरिषद्मा पम्फा भुसाल राज्यमन्त्री र शशी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री थिइन् । त्यसयता उनीहरु अधिकांश मन्त्रिपरिषदमा सहभागी छन् ।
जनसेनाको कमाण्डर देउवाका अर्थमन्त्री
वर्तमान देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्मा तत्कालिन माओवादी सेनाका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन् । २०३४ सालदेखि राजनीतिमा लागेका शर्मा २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट पनि सांसदको उम्मेदवार थिए । २०६४ सालको पहिलो संविधानसभामा रुकुमको २ नम्बर क्षेत्रबाट विजयी भएका शर्मा प्रतिनिधिसभाको सचेतकदेखि पटक पटक मन्त्री भए ।
शर्मा नेपाल सरकारका शान्ति तथा पुननिर्माण मन्त्री, उर्जामन्त्री हुँदैै देउबा नेतृत्वको सरकारमा अर्थमन्त्री छन् ।
शान्ति प्रक्रियापछि भुसाललाई फाइदै फाइदा
माओवादी शान्ति प्रक्रियामा आएपछि महिला नेतृहरु मध्ये पम्फा भुसाल सबैभन्दा बढी फाइदा लिने मन्त्रीमा पर्छिन् । गिरिजा नेतृत्वको अन्तरिम मन्त्री परिषद् गठन गरिँदा राज्यमन्त्री बनेकी भुसाल माओवादी सरकारमा जाँदा सम्भवतः सबै मन्त्रिपरिषद्मा अटाएकी छन् ।
अन्तरिम सरकारमा राज्यमन्त्री बनेकी उनी २०६४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री भइन् ।
माओवादी पार्टीभित्रको फुट विभाजनपछि दोस्रो संविधानसभा निर्वाचनमा मोहन वैद्य नेतृत्वको माओवादीतिर लाग्दा भुसाल लाभको पदबाट टाढिइन् । वैद्य नेतृत्वको पार्टीले निर्वाचन बहिष्कार गर्दा सांसद पदसमेत गुमेपछि उनी पुनः रामबहादुर थापासँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पुरानै माओवादीतिर फर्किइन् ।
तर एमालेसँगको एकतापछि बनेको नेकपा पुनः विभाजित हुँदा प्रचण्डसँगै रहेकी भुसालले देउवा नेतृत्वको वर्तमान सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्न पुगिन् ।
अन्तरिम कालमा माओवादी मन्त्री
२०६२/६३ को दोस्रो जनआन्दोलनपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वमा २०६३ बैशाख १२ गते अन्तरिम सरकार सरकार गठन भयो ।
गिरिजा नेतृत्वको सरकारमा माओवादी नेता अमिक शेरचन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या बने । सोही अन्तरिम सरकारमा माओवादीका देव गुरुङ वन तथा वातावरण र स्थानीय विकास मन्त्री बने भने गिरीराजमणि पोखरेल स्वास्थ्यमन्त्री भए ।
सोही अन्तरिम मन्त्रिपरिषदमा मात्रिकाप्रसाद यादव वन मन्त्री तथा पम्फा भुसाल र शशी श्रेष्ठ राज्यमन्त्री बन्ने सौभाग्य पाए ।
शान्ति प्रक्रियापछि महरालाई लाभैलाभ
दश वर्षे सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएको १६ वर्षभन्दा बढी भइसक्दा र माओवादी नेतृत्व पटक पटक प्रधानमन्त्री भइसक्दा पनि नागरिकको अवस्थामा परिवर्तन आउन नसकेको गुनासो ब्याप्त छ ।
जनताले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो आए पनि माओवादीका केही यस्ता भाग्यमानी छन्, जो निरन्तर मन्त्री हुँदै आए ।
निरन्तर लाभको पद हत्याउने माओवादी नेताको सूचीमा कृष्णबहादुर महराको नाम पनि अगाडि रहेको छ । २०६४ साल पुसमा सूचना तथा सञ्चारमन्त्री बनेका महरा २०६७ माघमा झलनाथ खनाल नेतृत्वको एमाले–माओवादी सरकारमा उपप्रधान तथा गृहमन्त्री बने ।
२०७३ साउनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा महरा पुनः उपप्रधान तथा अर्थमन्त्री भए ।
२०७४ सालमा पुनः कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–माओवादी–राप्रपाको संयुक्त सरकारमा महरा उपप्रधानमन्त्रीसहित विनाविभागीय मन्त्री पनि भए । अन्तरिम मन्त्रिपरिषद्देखि जुनसुकै गठबन्धनबाट निरन्तर मन्त्री बन्दै आएका महरा ७४ सालपछि भने प्रतिनिधिसभाको सभामुख बनाइए ।
माओवादीबाट अहिलेसम्म कोको भए मन्त्री ?
माओवादीका केही नेता जो पटक पटक मन्त्री बन्ने सौभाग्य पाइरहेका छन् । महरा, शर्मा, भुसाल मात्र नभई माओवादीबाट लाभको पद पाइराख्नेमा वर्षमान पुन, अग्नि सापकोटा, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, शशि श्रेष्ठ लगायत छन् ।
२०६७ माघमा तत्कालिन एमाले नेता झलनाथ खनाल नेतृत्वको मन्त्रिमण्डलमा महरा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने भने टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण, अग्नि सापकोटा सूचना तथा सञ्चार, शक्ति बस्नेत स्वास्थ्य तथा जनसंख्या, जयपुरी घर्ती महिल बालबालिका मन्त्री बने ।
माओवादीबाट पटक पटक मन्त्री बनेका रायमाझी अहिले थापासँगै एमालेतिर लागेका छन् भने सापकोटा संघीय संसदमा सभामुख छन् ।
यस्तै, २०६८ भदौमा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार बन्दा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री भए भने रायमाझी स्थानीय विकास र वर्षमान अर्थमन्त्री भए ।
बाबुराम भट्टराईले २०६९ जेठमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि नारायणकाजी, टोपबहादुर र वर्षमान मन्त्रिपरिषदमा नै समेटिए । जतिबेला श्रेष्ठले परराष्ट्रसहित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पनि जिम्मा पाए भने रायमाझी शान्ति तथा पुनर्निर्माण र पुन अर्थमन्त्री नै दोहोरिए ।
२०७२ असोजमा तत्कालिन नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि रायमाझीले उपप्रधानमन्त्रीसहित उर्जामन्त्री पाए । ओली नेतृत्वको सरकारमा गिरीराजमणि पोखरेल शिक्षा, अग्नी सापकोटा वन तथा भूसंरक्षण, शक्तिबहादुर बस्नेत गृह र हरिबोल गजुरेल कृषि विकास मन्त्री बने ।
२०७३ साउनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा फेरि महरा अर्थमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री भए ।
२०७४ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि महरा मन्त्रिपरिषदमा समेटिए । महरासहित गिरिराजमणि पोखरेल, जनार्दन शर्मा फेरि पनि मन्त्री बन्ने सौभाग्य पाए । त्यतिबेला उनीहरु बिनाविभागीय मन्त्री बने ।
२०७४ असोजमा केपी ओली नेतृत्वमा पुनः बाम गठबन्धन बन्यो । ओली नेतृत्वको बाम गठबन्धनमा माओवादीबाट गिरिराजमणि पुनः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने ।
ओली नेतृत्वको सरकारमा रामबहादुर थापा गृहमन्त्री बने भने वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री र शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री बने । ओलीपछि २०७८ असार २८ मा सर्वोच्च अदालतले जारी गरेको परमादेश अनुसार शेरबहादुर देउवा पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।