निर्वाचन संवेदनशिलता, सुरक्षा सतर्कता, मधेस नजर


खबरस्टोरी संवाददाता
९ फाल्गुन २०८२, शनिबार
निर्वाचन संवेदनशिलता, सुरक्षा सतर्कता, मधेस नजर

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन नजकिँदै जाँदा सुरक्षा चासोहरु निकै बढिरहेको छ । 

मुुलुक निर्वाचनमय बनिरहँदा राजनीतिक दलहरुभित्रै अस्वस्थ प्रतिष्पर्धा हुनेदेखि मधेस प्रदेशको रौतहटमा चर्किएको साम्प्रदायिक दंगाले सरकारको कथिंगल बिगारेको छ । 

शनिवार मात्रै केन्द्रीय सुरक्षा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चर्तुर्वेदीलाई तराईको अवस्था बुझ्न पठाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् । चर्तुर्वेदी नेतृत्वको सुरक्षा समूहले तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलताबारे विश्लेषण गर्नेछ । सुरक्षा समिति बैठक लगत्तै 

एआईजी चतुर्वेदी कार्यक्षेत्रमा गइसकेको सुरक्षा स्रोतको भनाई छ । 

हिंसा भड्काउन राजनीतिक दल नै सक्रिय

रौतहटको गौरमा हिंसा भड्काउन केही राजनीतिक दल नै सक्रिय भएको सुरक्षा स्रोतको भनाई छ । हिंसा भड्काएको आशंकामा जनमत पार्टीका रौतहट जिल्ला संयोजक प्रहरी अनुसन्धानमा तानिएका छन् । अनुसन्धानका लागि भन्दै प्रहरीले गौर नगरपालिका वडा नं. ६ का पूर्व वडाध्यक्षसमेत रहेका जनमत जिल्ला संयोजक शेख जमशेदलाई शनिवार नियन्त्रणमा लिएको हो । 

बिहीबार साँझ मस्जिदको बाटो हुँदै गएको जन्तीको गाडीले डीजे म्यूजिक बजाएर मस्जिदको ध्यान विथोलेको विषयमा विवाद शुरु भएको थियो ।  शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो । सहमति पछि स्थिति साम्य भएको विश्वार गरिए पनि पुनः शनिवार विहानदेखि नै पुनः हिंसा चर्कियो । जसका कारण रौतहटमा जिल्ला प्रशासन कार्यालय गौरले कफ्र्यू आदेश नै जारी गर्यो । सेनासहितको तीनै वटा सुरक्षा निकाय परिचालन हुँदा पनि गौरका ४ वटा ठूलो मस्जिदहरुमा आगजनी र तोडफोड भए । 

जनमत नेता जमशेदसहित २० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ भने सुरक्षा ब्यवस्था कडा पारिएको छ । यहि घटनालाई लिएर मधेसको अन्य जिल्लाहरुको पनि गृह सुक्ष्म अध्ययन गरि नयाँ रणनीति बनाउने छ । 

निर्वाचन केन्द्रित शान्ति सुरक्षाबारे बुझ्न प्रधानमन्त्री सुशीला कार्की  विभिन्न प्रदेश भ्रमणमा निस्किएकी छन् । शनिवार मात्रै उनले लुम्बिनी प्रदेशको बुटवलमा तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा ब्रिफिङ लिएकी थिइन् ।