काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सकिएको छ ।
फागुन १८ गते मध्यरातीबाट मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।
मतदान हुनु ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ।
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ।