निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि नयाँ पुराना सबै दलसँग आवेदन मागेको थियो । ती मध्ये ८० वटा दलले निवेदन दिए ।
८० दलमध्ये ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आयोगले पार्टीभित्रकै विवादका कारण अस्वीकृत गर्यो । केही दिनअघि उक्त पार्टीका असन्तुष्ट समूहले कट्टेललाई कारबाही गरेको भन्दै आयोगमा उजुरी गरेका थिए ।
सोही कारण आयोगले नेकपाको नाम निर्वाचनमा भाग लिन पाउने दलको सूचीबाट हटाएर विहीबार ७९ वटा दलको नामावली प्रकाशित गरेको थियो ।
आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन पाउने सूचीमा सबै भन्दा बढी कम्युनिस्ट नामका पार्टी रहेका छन् भने त्यो भन्दा बढी समाजवादी नामको पार्टी रहेका छन् ।
आयोगमा पुरानै चिन्हसहित राष्ट्रिय मान्यता पाएका समाजवादी पार्टी पनि तीन वटा पार्टी छन् । राष्ट्रिय मान्यता प्राप्त समाजवादी पार्टीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।
यी तीन वटा समाजवादी नामका पार्टीबाहेक उस्तै उस्तै नाम रहेका अरु १० वटा समाजवादी पार्टीले पनि स्थानीय तह निर्वाचनमा भाग लिने तयारी गरेका छन् । ती नामहरु आफ्नै पार्टीका नेता कार्यकर्तालाई चिन्न पनि मुश्किल देखिन्छ ।
निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी नाममा पार्टीहरु अरु थुप्रै छन् । केही समाजवादी पार्टी निर्वाचनमै भाग नलिने छन् । ती दलहरुको नाम आयोगले सूचीकृत गरेको छैन । सूचीकृत नभएकासमेत गरी दुई दर्जन बढी पार्टी समाजवादी नाममा छन् ।
निर्वाचन आयोगमा सूचीकृत समाजवादी दलहरु
१) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,
२) वैज्ञानिक समाजवादी पार्टी,
३) नेकपा (एकीकृत समाजवादी),
४) नेपाल संसदीय समाजवादी पार्टी,
५) समाजवादी केन्द्र नेपाल,
६) नेकपा (समाजवादी),
७) आधुनिक नेपाल समाजवादी पार्टी,
८) नेकपा माओवादी समाजवादी,
९) राष्ट्रिय समाजवादी पार्टी नेपाल,
१०) जनसमाजवादी पार्टी नेपाल,
११) जनता समाजवादी पार्टी नेपाल,
१२) बहुजन समाज पार्टी नेपाल,
१३) राष्ट्रिय सामाजिक पार्टी नेपाल ।
निर्वाचन आयोगकाे सूची