Media Network

निर्वाचित जनप्रतिनिधिलाई नारायणकाजीको आठ उपदेश


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देशैभरका ७ सय ५३ वटा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई आठ उपदेश दिएका छन् । उनले विशेष गरी आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तहमा जनताको सेवक भई काम गर्न ध्यानाकर्षण गराएका हुन् । 

निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै नेता श्रेष्ठले जनसेवक र जनताको कारिन्दा भई सेवा गर्न सामाजिक सञ्जाल बुँदागत रुपमा नै ध्यानाकर्षण गराएका छन् । उनले भ्रष्टाचार तथा अनियमिताको हुन नदिन आग्रह गर्नुका साथै नमूना बन्न पनि सुझाव दिएका छन् । 

माओवादी केन्द्रका नेता श्रेष्ठले सामाजिक सुरक्षा भत्ता घरघरमै गएर उपलब्ध गराउनसमेत जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । 

श्रेष्ठले जनप्रतिनिधिहरुलाई उपदेश दिनुका साथै आफूले जिताएका प्रतिनिधिहरुलाई निरन्तर निगरानी गर्न मतदाताहरुलाई पनि आग्रह गरेका छन् । 

यस्तो छ, नारायणकाजीको जनप्रतिनिधिलाई आठ उपदेश 

१) आफूलाई शासक र हाकिमका रुपमा होइन, जनसेवक र जनताको कारिन्दाको रुपमा प्रस्तुत गर्नुहोस्  । 

२. भ्रष्टाचारको “भ’’ र अनियमितताको ‘अ’ को छिटा बिल्कुल पर्न नदिनुहोस् । स्वच्छता ,पारदर्शिता र सुशासनमा नमूना बन्नुहोस् ।

३) जननीति लागू गर्नुहोस् । नीति निर्माण, योजना तर्जुमा, बजेटको बाँडफाँड र कार्यान्वयनमा जनताको सहभागिता सुनिश्चित गर्नुहोस् ।

४) सामाजिक सुरक्षा भत्ता के कसरी संयोजन गरेर हुन्छ जनताको घरघरमै पुर्याउनुहोस् ।

५) बिकास स्थानीय सरकारको मुख्य कार्यभार हो । तर बिकासलाई जनमुखी बनाउन र समाजवादको आधार तयार पार्न ध्यान दिनु पर्दछ । घरघरमा स्वच्छ खानेपानी र बिजुली, सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता, जनस्वास्थ्य र स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन जोड र कृषिसहित उत्पादन र रोजगारी केन्द्रित बिशेष योजना र पर्यावरण को रक्षामा ध्यान केन्द्रित गरौं । बिनायोजना जताततै डोजर लगाउने काम बिल्कुल नगरौँ ।

६) जननिर्वाचित प्रतिनिधिहरुको सेवा सुबिधालाई न्युनतम बनाउनुहोस् र अवाञ्छितरुपमा बृद्धि नगर्नुहोस् ।

७) गरीब, दलित, महिला र उत्पीडित एवं सिमान्तकृत समुदायको अधिकारको रक्षा र उत्थानमा ध्यान दिनुहोस् । 

८) आफलाई  मत दिने नदिने सबै जनता हाम्रा हुन् । त्यसैले कसैलाई भेदभाव र काखापाखा नगरी सेवा पुर्याउनुहोस् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद