Media Network

ओलीको प्रतिवेदनः सत्ता गठबन्धन बाह्य शक्तिहरुका लागि कम्फर्टेबल


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बाह्य शक्तिहरुका लागि कम्फर्टेबल रहेको आरोप लगाएका छन् । 

पार्टीको बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश भएको प्रतिवेदनमा ओलीले आगामी निर्वाचन पनि स्वाभिमानी पक्ष र बाह्य शक्तिका लागि कम्फर्टेबल पक्षधरबीच हुन लागेको उल्लेख गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार कन्फर्टेबल हुने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली सरकार गिराउने बेला दिएको अभिब्यक्तिलाई लिएर ओलीले प्रतिवेदनमा उल्लेख गरेका हुन् ।  

ओलीले गठबन्धनलाई परमादेशको सरकार, राजनीतिक अस्थिरताका संवाहक तथा बाह्य शक्तिहरुका लागि कम्फर्टेबल शक्तिका रुपमा ब्याख्या गरेका छन् । उनले आसन्न निर्वाचन नियमित र सहज अवस्थामा नभई आफ्नो नेतृत्वको जनादेश प्राप्त पक्ष र परमादेश पक्षबीचको मिनी जनमत संग्रहका रुपमा ब्याख्या गरेका छन् । 

गत निर्वाचनमा जनादेशप्राप्त पक्षलाई षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरी निर्वाचनबाट पराजित भएकाहरु अदालतको जस्केलाबाट छिरेको ओलीको आरोप छ । 

आफूअनुकूलको सेटिङ गर्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग 

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दूषित मनशायले अगाडि सारिएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

सत्ता गठबन्धनले अदालतमा आफूअनुकूलको सेटिङ गर्नका लागि प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको ओलीले आरोप लगाएका छन् । 

महाअभियोग प्रस्ताव पारित हुन चाहिने दुईतिहाई संख्या आफूहरूसँग नहुँदा नहुँदै पनि महाभियोग प्रस्ताव दर्ता गरेर प्रधानन्यायाधीशलाई निलम्बन गर्नु र आफू अनुकूलको सेटिङ खडा गर्ने उद्देश्य रहेको ओलीको आरोप छ । 

ओलीले न्यायालयको भयदोहन गर्दै आफूहरू विरुद्धका सङ्गीन मुद्दाहरूबाट ध्यान विकेन्द्रित गर्नु या तिनमा न्यायपूर्ण फैसला हुन नदिन अदालतमाथि दबाब सिर्जना गर्नु रहेको भन्दै सत्ताधारीहरूका स्वार्थका लागि अदालतको दुरुपयोगको यो श्रृंखला निरन्तरअघि बढिरहेको ओलीको आरोप छ ।

‘महाअभियोग प्रस्तावमाथि छलफल गर्ने र सम्बन्धित समितिमा पठाउने भनेर कार्यसूची तोकिएको चैत २ को अघिल्लो दिन नै संसदको अधिवेशन अन्त्य गरेर सत्ताधारी गठबन्धनले संविधान र कानुनले दिएका केही संवेदनशील प्रबन्धहरूको कुन हदसम्म दुरुपयोग गर्नसक्छ भन्ने स्पष्ट पारेको छ ।’– प्रतिवेदनमा भनिएको छ । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि पनि यस्तै नियतले महाअभियोग प्रस्ताव दर्ता गरिएको ओलीको प्रतिवेदनमा उल्लेख छ । 

स्थानीय निर्वाचन भावी परिदृश्यको संकेत 

एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनले राष्ट्रिय राजनीतिमा भावी परिदृष्यको संकेत गर्ने उल्लेख गरेका छन् । 

यो निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको संकेत गर्ने भन्दै एमालेले जसरी पनि सफलता हासिल  गर्नुपर्ने ओलीको भनाइ छ । 

मोर्चा सामथ्र्य राख्न सक्ने नभई कमजोरी भए पनि गठबन्धन दल मिलेका कारण एमालेलाई अप्ठेरो पर्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादी र कांग्रेस मिल्दा पनि एमालेले ४२ प्रतिशत मत ल्याएको भन्दै एमाले पहिलो शक्ति हुने दावी गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने वैठकपछि एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद