शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई प्रतिवाद गरेका छन् ।
‘प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनुभएको छ । यसको हामीले विरोध गर्छौं । आपत्ति जनक छ । झुठा छ । आधारहिन छ ।’ बडुले संसदमा भने, ‘अभिव्यक्ति पूर्वाग्रही छ । प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’
नेपाल आयल निगमलाई खारेज गरि निजीकरण गर्न लागिएको ओलीको बिहीबारको बोलीप्रति मन्त्री बडु रुष्ट देखिएका थिए । ‘आयल निगम खारेज गरेर कमिसन आधा खाइसक्यो’, मन्त्री बडुले ओलीलाई प्रश्न गरे, ‘आधा खान बाँकी छ भनेर कुन आधारले भनेको हो ? यसको जवाफ चाहिन्छ ।
मन्त्री र मन्त्रालयतर्फ लगाइएको आरोपको खण्डन गर्दै बडुले एमाले अध्यक्ष ओलीको बोली निराधार र झुठा आरोप लगाएको बताए । आफ्नो बोलीलाई प्रमाणित गरेर देखाउन समेत उनले एमालेलाई चुनौती दिए ।
एमाले अध्यक्ष ओलीको बोलीको मन्त्री बडुले प्रतिवाद गरेपछि एमाले सांसदले संसदमा विरोध गरेका छन् । आफ्ना अध्यक्षको बोलीलाई ‘स्तरहीन’ भनिएको प्रति उनीहरुको आपत्ति छ ।