Media Network

पौडेल समुहको छलफल सकियोः तीन बजे केन्द्रीय सदस्य र सभापति आकांक्षीको बैठक


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा आफ्नो समूहबाट एक जनामात्रै सभापतिका उम्मेदवार बनाउन छलफलमा जुटेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बत्तीसपुतलीमा भएको छलफल सकिएको छ ।

पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।

वरिष्ठ नेताले संयोजन गरेको आजको बैठकमा समूह निकट रहेका केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व सभापतिहरू सहभागी थिए । "साझा उम्मेदवार तय गर्दा रामचन्द्र पौडेल र शशांक कोइरालाले ब्याक हुन्छु भन्नु भएको हो भने अब शेखर कोइराला र प्रकाशमान श्रेष्ठमध्ये कसलाई साझा उम्मेदवार तय गर्ने हो भन्ने वहाँहरूले नै बताउनुपर्छ," बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो ।

शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई कठिन छ । बत्तीसपुतली छलफलमा सहभागी नेता-कार्यकर्ताले मतदान गर्दा झन् समूहहरू बन्ने भएकाले नेताहरूले छलफल गरेर उम्मेदवार टुंग्याउनु पर्ने सुझाव दिएका छन् ।

आज दिउँसो ३ बजे प्रकाशमान सिंहको चाक्सीबारी निवासमा पौडेल समूहका केन्द्रीय सदस्य र सभापतिका आकांक्षीहरूबीच छलफल हुने केन्द्रीय सदस्य जीवन परियारले जानकारि दिएका छन् । 

सोहि सहमतिका लागि सभापतिको दाबी छोड्न तयार पौडेल र कोइराला पनि उक्त छलफलमा सहभागी हुने परियारले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद