विहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पोखरेलले एसपीपीकोबारेमा सत्तापक्षबाटै नक्कली कुराहरु उठिरहेको भन्दै यसकाविरुद्धमा जनमत खडा भइरहेको बताए । २०१५ र २०१७ मा नै एसपीपीकाबारेमा औपचारिक ढंगले सकारात्मक प्रस्ताव अमेरिकालाई पठाएको भन्दै उनले त्यो बेलाको प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।
२०१५ मा सुशील कोइरालाको नेतृत्वको सरकार रहेको र त्यो सरकारमा अर्थमन्त्री मन्त्री पनि कोइराला नै रहेको तथा २०१७ मा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार रहेको पोखरेलले स्पष्ट गरे ।
२०१७ मा प्रधानमन्त्री देउवाले नै एसपीपीको प्रस्ताव पठाएको स्पष्ट हुँदा हुँदा गठबन्धनले ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको नेता पोखरेलले बताए । त्यसबेला सकारात्मक ढंगले प्रस्ताव पढाउनेहरु अहिले ढाकछोप गर्न लागिरहेको पोखरेलले बताए ।
‘गठबन्धनका नेताहरु गलत ढंगले झुठ कुरा बोलिरहनु भएको छ, म निन्दा गर्न चाहन्छु’– नेता पोखरेलले भने ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बेलामा पनि एसपीपीको कुरा उठेको तर असंलग्न परराष्ट्र नीति विपरित जान नसकिने स्पष्ट गरेको पोखरेलले बताए । परराष्ट्रनीतिलाई कमजोर बनाउने प्रस्तावको एमालेले प्रतिवाद गर्ने पोखरेलले स्पष्ट गरे ।