काठमाडौं । हालको सत्ता गठबन्धनका दुई दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सामु आन्तरिक र बाह्य दबाब बढेको छ ।
पार्टीभित्रैबाट नेतासँगै आम कार्यकर्ताहरु र अन्तर्राष्ट्रिय स्तरबाट आइरहेको अर्को दबाब विशेष गरी चीन र अमेरिकी दबाब झेलिरहेका दुई दलहरु सामु यतिबेला सत्ता कि सडकको दुई विकल्पमध्ये एक विकल्प रोज्नुपर्ने बाध्यात्मक परिस्थिति आइपरेको छ ।
आइतबार प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताले सत्ता गठबन्धनका दुई प्रमुख घटकमाथि यस खालको दबाब सिर्जना भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा एमसीसी सम्झौता टेबलका लागि सहर्ष स्वीकार गर्ने तर विरोधका लािग नेता–कार्यकर्ता सडक प्रदर्शनमा उतारेको आरोप खेप्दै आइरहेका छन् । एमसीसीका सम्बन्धमा दुबै नेताहरुले द्वैध चरित्र देखाएको भन्दै आमरुपमा सर्वत्र बहस र विरोधको विषय बनेको छ ।
एमसीसी सम्झौता सदनमा टेबल भइसकेपछि पारित हुने सम्भावना बलियो रहेको एक जना माओवादी नेताले बताए । यस्तो अवस्थामा सत्ता साझेदार दलले कुन नैतिकताले विपक्षमा मत हालेर सरकारमा बस्ने यहाँनिर नैतिकताको सवाल उठ्ने भएकाले दुवै दलहरु सत्ता त्याग्नुपर्ने दबाबमा देखिन्छन् उनले बताए ।
एमसीसी सम्झौता टेबल भएपछि आइतबार बेलुकी प्रचण्ड र नेपाल दुवैले सार्वजनिक धारणा राख्दै एमसीसी संसद्मा बलजफ्ती प्रवेश गराइएको र आफूहरु यसको विपक्षमा उभिने अभिव्यक्ति दिएका थिए ।
यता, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित देब गुरुङ लगायतका नेताहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती एमसीसी टेबल गरेको भन्दै त्यसलाई पारित गराउन बल गरे सरकारबाट बाहिरिने खुल्ला रुपमा चेतावनी दिइसकेका छन् भने समाजवादी दलका नेताहरु पनि सरकारबाट बाहिरिनुुले राजनैतिक चरित्र देखाउने बताउँदै आइरहेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट ५ मन्त्री र एक राज्यमन्त्री छन् भने एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।