Media Network

प्रचण्डले भने– प्रकाश सपुतको गीतले कोही उत्तेजित हुनु पर्दैन


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक प्रकाश सपुतको गीतले कोही उत्तेजित हुनु नपर्ने बताएका छन् । 

सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आफूले पुरै गीत हेर्न नपाएको तर मिडियामा थाहा पाएको प्रतिक्रिया दिए । ‘अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’– उनले भने । 

प्रचण्डले शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद ग¥यो भन्ने पनि नरहेको बताए । तर जनयुद्धप्रति हल्का टिप्पणी गर्न नमिल्ने उनको भनाइ थियो । शान्ति प्रक्रियामा ल्याएर गल्ती नगरेको पनि दोहोर्याए । 

जनयुद्धको विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क,पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

प्रकाश सपुतले हालै बजारमा ल्याएको गीत ‘पीर’मा को म्युजिक भिडियोमा माओवादी जनयुद्धमा होमिएका छापामारहरु शान्ति प्रक्रियामा आएपछि अभाव संकट झेल्नु परेको र अभाव टार्न महिला छापामारहरु देहब्यापारमा र पुरुषहरु अनैतिक काममा लाग्न थालेको चित्रण गरिएको छ । 

माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिक नेतृत्व बिग्रिए पनि युद्धकालिन कार्यकर्ताहरु अनैतिक काममा नरहेका समग्र माओवादी वृत्तमा आवाज उठिरहेको छ । तर माओवादी इतर पक्षले भने सपुतले राम्रो काम गरेको भन्दै स्याबासी दिइरहेका छन् । जसका कारण प्रकाशको गीत विवादित बनिरहेको छ । 

आइतबार माओवादी केन्द्रका चार जनवर्गीय संगठनले विज्ञप्ति नै जारी गरी प्रकाश सपुतलाई जनयुद्धकालिन कार्यकर्ता अनैतिक कार्यमा रहेको दृष्य गलत भएको भन्दै सच्याउन आग्रह गरेका थिए । तर गायक सपुतले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद