नयाँ आईजीपी चयनका लागि आइतबार मन्त्रिपरिषदको बैठक बस्दैछ । आईजीपी थापाको अवकाशपछि नयाँ आईजीपीका लागि विश्वराज पोखरेल स्वभाविक दाबेदार छन् । राजनीतिक तथा आर्थिक चलखेल नभए सम्भवतः पोखरेल नयाँ आइजीपी बन्नेछन् ।
स्वभाविक रोलक्रमअनुसार पहिलो नम्बरका पोखरेलका साथै अन्य तीन जना एआईजीहरू धीरजप्रताप सिंह, सहकुल थापा र रवीन्द्र धानुक पनि आईजीपी बन्ने दौडमा लागिरहेका छन् ।
स्वभाविक रोलक्रमसँगै कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने गरिए पनि विभिन्न समयमा नियम विपरित राजनीतिक हस्तक्षेप गरी आईजी नियुक्त गरिएका छन् ।
आईजीपी बन्ने पहिलो रोलक्रमका एआईजी पोखरेल झन्डै १८ महिनाअघि एआईजीमा बढुवा भएका हुन् । पोखरेललाई केपी ओली नेतृत्वको सरकारले दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । पोखरेल एआईजी भएको ६ महिनापछि सहकुल थापा एआईजीमा बढुवा भएका हुन् ।
धीरज प्रताप सिंह र रवीन्द्र धानुक भने हालैमात्र एआईजीमा बढुवा भएका हुन् । हालै एआईजी बढुवा भएका सुदूरपश्चिमका सिंहलाई आईजीपी बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं रहेको स्रोतको दाबी छ ।
आईजीपीको प्रतिस्पर्धामा रहेका थापा कारबाहीमा परेर पदोन्नति रोक्का भएको थियो भने सिंह र धानुक निलम्बनमा परेर ग्रेड रोक्का भएका हुन् । कार्यक्षेत्रमा रहँदा संगठनको मर्यादाविपरीत काम गरेको भन्दै तत्कालीन नेतृत्वले ३ जनालाई कारबाही गरेको थियो ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था रहेको छ ।
आज नै मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलमा पनि नयाँ आईजी नियुक्त गर्दैछ । सशस्त्रको आईजीपी राजु अर्याललाई बनाउने तयारी छ । सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाटै अनिवार्य अवकाशमा जाँदैछन् ।
आईजीपी नियुक्ति लगायतका विषयमा शनिबार बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।