Media Network

प्रजातन्त्रको ७२ वर्षः राष्ट्रियता संकटमै


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष भएको छ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यही विजयको आधार मान्दै नेपालमा फाल्गुण ७ मा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । 

आज ७२ औं प्रजातन्त्र दिवस मनाइरहँदा पनि राष्ट्रियता अझै संकटमै देखिएको छ । छिमेकी मुलुकहरुले मात्र होइन, विश्व शक्तिशाली मानिएको अमेरिकालेसमेत नेपालमा चलखेल गर्न खोजिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । 

००७ सालको प्रजातन्त्र, ०४६ सालको प्रजातन्त्रको पुनःस्थापना हुँदै ०७२/७३ सालको जनआन्दोलनबाट संघीय गणतन्त्रको स्थापना भए पनि राष्ट्रियता संकटमा परेको भन्दै आम नागरिक आन्दोलनमै रहिरहेको अवस्था छ । 

तत्कालिन जहाँनिया राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । चारैजनालाई राणा शासकले फाँसी दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

प्रजातन्त्र स्थापना भएपछि पनि पटक पटक आन्दोलन गर्दै आएका नेपाली जनता अहिले नेपालमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का को नाममा हस्तक्षेप गर्न खोजेको भन्दै आन्दोलन चर्किरहेको छ भने नेपाली भूमि लिपुलेकदेखि लिम्पियाधुरामा भारतले सडक निर्माण गरेर भूमि अतिक्रमणको धावा बोलिरहेको छ । 

आज प्रजातन्त्रको नारा लगाइरहँदा राष्ट्रियताबिनाको प्रजातन्त्रको औचित्य नहुने भनी प्रश्न उठिरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद