प्रतिनिधिसभा सदस्य निर्वाचनः को कहाँ, कसको उम्मेदवार कति ?


खबरस्टोरी संवाददाता
८ माघ २०८२, बुधबार
प्रतिनिधिसभा सदस्य निर्वाचनः को कहाँ, कसको उम्मेदवार कति ?

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको सिटमा नेपाली कांग्रेस र नेकपा एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । 

नेपाली कम्युनिस्ट पार्टीले १६४, राष्ट्रिय स्वतन्त्र पार्टीले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमत पार्टीले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

शीर्ष नेता को कहाँबाट उम्मेदवारी ? 

कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट मैदानमा उत्रिएका छन् । 

यस्तै, नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल पुरानै ठाउँ रौतहट १ बाट प्र्रतिष्पर्धामा छन् । यस्तै, रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन्द्र शाह पूर्वप्रधानमन्त्री ओलीलाई चुनौती दिन झापा–५ पुगेका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र जनमतका अध्यक्ष सीके राउतले सप्तरी–२ तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट प्रतिस्पर्धामा छन् । 

धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । 

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार छैनन् । उनी २०४८ यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट जित्दै आएका थिए ।

धनुषामा ४५ जनाको उम्मेदवारी, मनाङमा ४ जनाको मनोनयन

सबैभन्दा बढी धनुषा–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन् । सबैभन्दा कम मनाङमा ५ जनाले उम्मेदवारी दिएका छन् । मनाङमा सात हजार मतदाता छन् ।