प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपा दुई तिहाई नजिक


खबरस्टोरी संवाददाता
२४ फाल्गुन २०८२, आईतवार
प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपा दुई तिहाई नजिक

काठमाडौं । जेनजी विद्रोहपछि पहिलो पटक भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विशाल जित हात पारेको छ । १ सय ६५ सिटका लागि भएको प्रत्यक्षतर्फको चुनावमा रास्वपाले १ सय २२ सिट हात परेको हो । मधेसका एक उम्मेदवारको अन्तिम समयमा उम्मेदवारी खारेज गरिए पनि उक्त क्षेत्रमा समेत रास्वपाकै उम्मेदवारले जितेका छन् । 

१ सय ६४ क्षेत्रको परिणाम मध्ये परिणाम आउन बाँकी ५ स्थान मध्ये रास्वपाका ३ उम्मेदवार जित नजिक छन् । रास्वपाका सुनसरी ४ का दीपक साह, नुवाकोट १ का विक्रम तिमिल्सिना र गोरखा १ का सुधन गुरुङ पनि जितको नजिक छन् । यसबाहेक कांग्रेसले १७, एमालेले ८, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृतिले ३, राप्रपाले १ र एक स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । एमाले उम्मेदवार २ ठाउँमा अगाडि छन् । एमालेका इलाम १ का काजीमान कागते र संखुवासभाका अर्जुनकुमार कार्कीले अग्रता लिइरहेका छन् । 

समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाकै अग्रता छ । रास्वपा विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यसपटकस्पष्ट एकल बहुमतका साथ अगाडि आएको रास्वपा दुई तिहाईको नजिक छ । नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तिपछिको झन्डै ३५ वर्षमा दोस्रो पटक उलटपुलटको स्थिति देखिएको छ । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी पहिलो ठूलो दल बनेको थियो ।