Media Network

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी प्रस्तावमाथि छलफल


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्तावमा सहमति नजुट्दा विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । विहीबार कार्यब्यवस्था परामर्श समितिको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा संसद बैठक आजका लागि सारिएको हो । 

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज बैठक बोलाइएको हो । गत आइतबार एमसीसी प्रतिनिधिसभा बैठकमा पेश गरिए पनि अनुमोदन गराउन सकस देखिएको छ । सत्ता गठबन्धन दलहरु नै सहमत नदेखिएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलहरुको बिहीबार दिनभरीको प्रयास असफल भएपछि बेलुका कांग्रेस र एमालेबीच छलफल भएको थियो । नयाँ राजनीतिक समिकरणका साथ अघि बढ्दै दुवै पार्टी सहमत भए पनि अन्तिम सहमति आज हुने नेताहरुले बताएका छन् । 

कांग्रेस र एमालेबीच सहमति जुट्न नसकेमा भने आज पनि संसद बैठक स्थगित हुन सक्ने बताइएको छ । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् भने राष्ट्रिय जनमोर्चा संसद बाहिरको दलहरुसँग मिलेर एमसीसीविरुद्ध सडक आन्दोलनमा छ । जनता समाजवादी पार्टीको बाबुराम भट्टराई पक्ष बाहेक एमसीसीबारे अझै प्रष्ट देखिएका छैनन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद