‘एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेको र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिले गठबन्धन बनेको हो,’ देउवाले भने । देउवाले अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी फाइदा बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी गरे ।
बुटवलमा चुनावी सभालाई सम्बाेधन गर्दै देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको बलिया महत्वपूर्ण चौडा रोड निर्माण हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनताहरुलाई हुने बताएका हुन् ।
उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे । उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न अनुरोध गरे ।
बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जितेपछि त्यस विषयमा ध्यानआकषर्ण गर्ने पनि बताए ।