भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् । पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।