काठमाण्डौँ । एमसीसी सम्झौताको विषयमा सत्तागठबन्धमै फरक फरक मत भए पछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। एमसिसी संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको छैन् । सोही कारण बुधबार बसेको संसद बैठकमा एमसीसी टेबल हुन सकेको थिएन् । हिजो नेपाल बन्द सहित दिनभर काठमाडौँ उपत्यका र देशका विभिन्न क्षेत्रमा एमसिसीको विरोधमा प्रदर्शन भयो । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप पनि लियो। सोही विषयमा बुधबार साझ प्रधानमन्त्री र राजदूत बेरीबीच वार्ता भएको हो।
एमसिसी पास गर्नका लागि फागुन १६ गतेसम्मको समयावधि दिइएको छ । तर माओवादी केन्द्रले यथास्थितिमा एमसिसीको पक्षमा जान नसकिने र जबरजस्ती गरिए सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै सत्तागठबन्धनमा रहेका अन्यदल नेकपा एकीकृत समाजवादी, जनमोर्चा , जसपाको उपेन्द्र यादव पक्षले सबैको सहमतिमा अगाडी बढाउनु पर्ने माग राखेका छन् । परन्तु नेपाली काङ्ग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसिसी पास गर्नुपर्ने धारणा राख्दै आएका छन् ।