काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले सोमवार गरेको सर्वपक्षीय छलफलमा सहभागी दलका नेताहरुले निर्वाचनप्रति सशय ब्यक्त गरेका छन् ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलका दोस्रो तथा तेस्रो तहका नेताहरु उपस्थित भएको छलफलमा अधिकांश नेताहरुले तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका ब्यक्त गरे । सबैजसो नेताहरुले सरकारले नै निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाए । जवाफमा प्रधानमन्त्री सुशीला कार्कीले भने आफू निर्वाचन गराउन पूर्ण प्रतिवद्ध रहेको र दलहरुले साथ दिनुपर्ने बताइन् ।
अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको भन्दै आक्रोश ब्यक्त गरिन् । साथै राजनीतिक दलहरुलाई १२ गोरुको बाह्रै टक्का नगर्न आग्रह गरिन् । जेनजी आन्दोलनका क्रममा भएको हिंसा र युवा पुस्ताको आक्रोशलाई बुझ्न दलहरुलाई आग्रह गरिन् । वगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको उनको गुनासो थियो ।
दलका नेताहरु कसले के भने ?
वर्षमान पुन, नेता, नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए ।
राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्नेभन्दै उनले संविधानविपरित सरकारले पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुनःस्थापना हुनेप्रति सचेत समेत गराए ।
पुनले निर्वाचनको वातवारण निर्माणको लागि सरकारले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग संवाद अगाडि बढाउनुपर्ने समेत सुझाव दिए ।
महेश बस्नेत, सचिव नेकपा एमाले
नेकपा (एमाले) का नव निर्वाचित सचिव महेश बस्नेतले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताए । बस्नेतले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए ।
निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको उनको आरोप थियो । उनले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।
शिशिर खनाल, नेता रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताए । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको भन्दै उनले भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको उल्लेख गरे ।
उनले अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरुको प्रतिवद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको स्पष्ट गरे । खनालले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताए ।
राजेन्द्र गुरुङ, नेता राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताए । गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने उल्लेख गरे ।
उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताए । नेता गुरुङले जेन–जी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर गरे ।
राजेन्द्र पाण्डे, नेता, नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिने अवस्था आएको बताए । मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्नुपर्ने उनले सुझाए ।
अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए । उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने भन्दै निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको उल्लेख गरे । उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे । सरकारले नयाँ नयाँ कुराहरु गर्न शुरु गरे काम नहुने पाण्डेको भनाई छ ।
भावना राउत, जेनजी प्रतिनिधि
जेन–जी प्रतिनिधि भावना राउतले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न तथा अन्तरजिल्ला मतदानको व्यवस्थाबारे राजनीतिक दलहरुको धारणा माग गरिन् । उनले निर्वाचन आायोगले राजनीतिक सहमति नभएको जवाफ फर्काउने गरेको भन्दै अन्तरजिल्ला मतदानको विषयमा राजनीतिक दलहरुको धारणा स्पष्ट आउनपर्ने बताइन् ।
अन्तरजिल्ला मतदान तथा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा निर्वाचन आयोगले राजनीतिक सहमति नभएको भन्दै पन्छिन थालेकोप्रति उनले आपत्ति समेत जनाइन् । जेन–जीहरुको मागहरु पूरा गर्ने सन्दर्भमा एकले अर्कोलाई जिम्मेवार बनाएर पन्छिन थालेकोमा उनको आपत्ति थियो । उनले अन्तरजिल्ला मतदानको व्यवस्था गरी हजारौँ युवाहरुको मतदानको अधिकार सुनिश्चित गरिदिन आग्रह गरिन् ।
सागर ढकाल
जेन–जीकै प्रतिनिधित्व गरेर उपस्थित भएका सागर ढकालले नीति प्रतिष्ठानको सुझावको आधारमा विदेशमा बसेका नेपाली नागरिकलाई समेत चुनाव सहभागि हुने व्यवस्था गर्नुपर्ने बताए । उनले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नको लागि सरकार र सम्बद्ध निकायहरुले कार्यतालिकाअनुसार काम नगरिरहेको प्रति आपत्ति जनाए । उनले मुलुकलाई विकास र समृद्धि दिन सबै राजनीतिक दल र सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।