पूर्वमन्त्री गुप्ता पुर्पक्षका लागि कारागार चलान


खबरस्टोरी संवाददाता
१६ पुष २०८२, बुधबार
पूर्वमन्त्री गुप्ता पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई कारागार चलान गरिएको छ । 

विशेष अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने बुधबार आदेश भएपछि डिल्लीबजार कारागार चलान गरिएको हो । 

भूमिसुधार मन्त्रीका रूपमा कार्यरत रहँदा गुप्ताले सरकारी क्वार्टरबाटै घुस लेनदेनको डिल गरेको अभियोगमा मुद्दा दायर भएको थियो । गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेकपा एमालेबाट मन्त्री बनेका थिए ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस १६ गते) गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो ।

गुप्ताले अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ ।

प्रतिवादीहरूबीच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनको आधारमा अदालतले गुप्तालाई उनलाई दोषी मानेको हो । 

अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, पूर्व मन्त्री एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई पनि आधार मानेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।