देशकै केन्द्रीय राजधानी काठमाडौं महानगरपालिकाकै मेयरसहित १३ स्थानीय तहको नेतृत्व स्वतन्त्र उम्मेदवारले हत्याएपछि यतिबेला दलहरुको टाउको दुखाइ बनेको छ ।
सडकदेखि सदनसम्म चर्चा
कांग्रेससहितका पाँच दलीय गठबन्धन र एमाले र राप्रपाको गठबन्धन बनेर लडेका महानगरपालिका र उपमहानगरपालिकामा समेत स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि सडकदेखि संसदसम्म बहस चुलिएको छ ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे संसदमा भएको बहसमा समेत निर्वाचित स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ ।
संसदको बहसमा स्वतन्त्र जनप्रतिनिधिलाई कसैले लोकतान्त्रिक गणतन्त्रमा फुलेको फूल त कसैले राजनीतिक दलको अक्षमताको परिणामको टिप्पणी गरेका छन् ।
काठमाडौं महानगरपालिकासहित तीन उपमहानगरपालिकाको मेयर नै दलबिहिन बनेपछि आगामी निर्वाचनमा दलहरुका लागि घण्टी बजेको छ । तर कतिपयले यसलाई दलमा टिकट नपाएका र असन्तुष्ट भएका बागी उम्मेदवारको उपमा पनि दिएका छन् ।
तर राजनीतिक दलका नेताहरुले यसो भनिरहँदा काठमाडौं महानगर, धरान र धनगढी उपमहानगरमा निर्वाचित उम्मेदवार भने नितान्त स्वतन्त्र रुपमै खडा भएका थिए । दलहरुले घेराबन्दी गरिरहँदा दलकै कार्यकर्ताले क्रस गरेर स्वतन्त्र उम्मेदवारलाई जिताइदिएका छन् ।
यी हस्ती जसले गठबन्धनलाई नै हरायो
काठमाडौं महानगरपालिकासहित ६ महानगर र ११ उपमहानगरपालिकामा ५ दलले गठबन्धन गरी साझा उम्मेदवार खडा गरेका थिए ।
काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएर स्वतन्त्र उम्मेवार बालेन्द्र शाह निर्वाचित भए ।
धरान, धनगढी र जनकपुर उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई पराजित गरिदियो ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५ मत ल्याउँदा गठबन्धनका जसपा उम्मेदवार लालकिशोर साहले ५ हजार १ सय ९४ मत मात्रै ल्याए । सुडीको निकटतम प्रतिष्पर्धी एमाले बन्यो ।
धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१ मत ल्याए निर्वाचित हुँदा गठबन्धनबाट कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।
सुदूरपश्चिमको राजधानी रहको धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाटै गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले १४ हजार ८ सय १७ मत मात्रै पाए । बड धनगढीको निवर्तमान मेयर समेत थिए ।
राजनीतिक दलहरुलाई धक्का दिने पालिका
एक महानगर, तीन उपमहानगरसहित १३ स्थानीय तहले राजनीतिक दलहरुलाई नै ढालिदियो । जसले दलीय घेराबन्दी तोडेर निर्वाचित भए, ती अहिले सवत्र्र चर्चामा छन् ।
एम महानगर, तीन उपमहानगरसहित महोत्तरीको बर्दिबास, जुम्लाको चन्दननाथ, कालीकोटको खाँडाचक्र नगरपालिकामा पनि दलको बर्चश्व गुम्न पुग्यो ।
यस्तै, कालीकोटको सान्नी त्रिवेणी, डोल्पाको डोल्पोबुद्ध, बैतडीको डिलासैनी, भोजपुर साल्पासिलिछा, हुम्लाको चंखेली र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भए ।
कसले कसलाई हराए ?
महोत्तरीको बर्दिबास नगरपालिकामा जेब्रा चुनाव चिन्ह पाएर निर्वाचित स्वतन्त्र उम्मेदवार प्रल्हाद कुमार क्षेत्रीले माओवादी केन्द्रका राजु खड्कालाई पराजित गरे ।
कर्णाली प्रदेशको जुम्लास्थित चन्दननाथ नगरपालिकाको मेयरमा राजुसिंह कठायत निर्वाचित भए । खानेपानीको धारा चुनाव चिन्ह पाएका उनले कांग्रेसका पदमबहादुर शाहीलाई पराजित गरे ।
यसैगरी, कालीकोटको खाँडाचक्र नगरपालिकामा हाँस चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भए । उनले एमालेका जसी प्रसाद पाण्डेलाई हराए ।
कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भए । पुतली चुनाव चिन्ह पाएका केसीले माओवादी केन्द्रका डम्बरबहादुर शाहीलाई पराजित गरे ।
यस्तै, डोल्पा डोल्पोबुद्ध गाउँपालिकामा खरायो चिन्ह पाएका कार्मा छोइवेल गुरुङले माओवादीका तेम्बा गुरुङलाई पराजित गरे ।
बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भए । पुतली चिन्ह पाएका उनले माओवादीकै लोकेन्द्रबहादुर रानालाई पराजित गरे ।
यसैगरी, भोजपुरको साल्पासिलिछो गाउँपालिकामा खानेपानीको धारा चिन्हबाट निर्वाचित दौलथकुमार कुलुङ राईले कांग्रेसका महेश राईलाई पराजित गरे ।
यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि खानेपानीकै धारा चिन्ह पाएका ज्ञानेन्द्र रुम्दालीले एमालेका रुपलाल तामाङ झण्डै दुई हजार बढी मत अन्तरले पराजित गरे ।
यसैगरी हुम्लाको चंखेली गाउँपालिकामा हाँस चिन्ह पाएका प्यारीलाल शाहले माओवादीका गोबिन्दबहादुर शाहीलाई ५ सयभन्दा बढी मतले पराजित गरे ।
यी हुन्, स्वतन्त्र निर्वाचित सरकार प्रमुखहरु
१) काठमाडौं महानगरपालिका, मेयर बालेन्द्र शाह (६१७६७ मत)
२) धनुषाको जनकपुर उपमहानगरपालिका, मेयर मनोजकुमार साह सुडी (१३४६५ मत)
३) कैलालीको धनगढी उपमहानगरपालिका, मेयर गोपाल हमाल (२६८६५ मत)
४) सुनरीको धरान उपमहानगरपालिका, मेयर हर्कराज राई (साम्पाङ) (२०८२१ मत)
५) महोत्तरीको बर्दिबास नगरपालिका, मेयर प्रल्हाद कुमार क्षेत्री (१४२१० मत)
६) जुम्लाको चन्दननाथ नगरपालिका, मेयर राजुसिंह कठायत (२४०३ मत)
७) कालीकोट खाँडाचक्र नगरपालिका, मेयर कमलबहादुर शाही (२९१९ मत)
८) कालीकोट सान्नी त्रिवेणी गाउँपालिका, अध्यक्ष मोहनबहादुर केसी (१८१९ मत)
९) डोल्पा डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष, कार्मा छोइवेल गुरुङ (५३५ मत)
१०) हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष, प्यारीलाल शाही (१६९५ मत)
११) बैतडी डिलासैनी गाउँपालिका, अध्यक्ष सन्तोष प्रकाश जोशी (३१८९ मत)
१२) भोजपुर साल्पासिलिछो गाउँपालिका, अध्यक्ष दौलथकुमार कुलुङ (राई) (१८१४ मत)
१३) ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका, अध्यक्ष ज्ञानेन्द्र रुम्दाली (५०२१ मत)