Media Network

रामकुमारीको प्रष्टीकरण : पार्टी चलाउन सरकारी योजना बेच्न सकिनँ, मनपरी बजेट नदिँदा ममाथि आक्रमण


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । सहरी विकासमन्त्रीका रूपमा ९ महिना बिताएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रम मार्फत बदा भईन् ।

मन्त्रालयबाट रुँदै बाहिरिएकी उनीमाथि आइतबारदेखि नै सामाजिक सञ्जालमा आक्रमण सुरू भएको छ। झाँक्री बाहिरिइरहँदा उनको सचिवालयमा नियुक्ति पाएकी भनिएकी पत्रकार कान्ति न्यौपानेले सबैभन्दा पहिले आफूले ६÷७ महिनाको पारिश्रमिक नपाएको भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिन्। 

झाँक्री मन्त्रीको कुर्सीबाट उत्रिएर सिंहदरबार काटिनसक्दा उनी रोएका तस्बिरहरू भाइरल भइसकेका थिए। जसमा उनलाई पदलोलुप, पार्टी फुटाएर पाएको मन्त्री गुमेपछिको पीडा आदि उपमा दिइयो।

मन्त्री छाड्नेबित्तिकै पार्टीभित्रैबाट पनि आफूमाथिको आक्रमणविरूद्ध झाँक्री अहिले सामाजिक सञ्जालमा भिडिरहेकी छन्। उनले आफू मन्त्री भएदेखि नै पार्टीभित्रैका नेता कार्यकर्ताले घेराबन्दी गरेर काम गर्न नदिएको गुनासो गरेकी छन्।

उनले आफूलाई पार्टी चलाउने पैसाका लागि समेत दबाव आएको खुलासा गरेकी छन्।’मैले पार्टी चलाउन योजना बेच्न सकिन। यो मलाई थाहा छ’, उनले अगाडि भनेकी छन्। उनले समाजवादीका नेता कार्यकर्ताले मागेका मनपरी योजनामा बजेट नदिँदा सुरुबाटै आक्रमण भएको पनि खुलासा गरेकी छन्।

रामकुमारीले आफ्नो सचिवालयमा तलब नपाएका पत्रकारबारे पनि स्पष्टीकरण दिएकी छन्। उनले आफ्नो सचिवालयमा त्यस्ता पत्रकार राख्ने सुविधा नै नभएको बताएकी छन्। खासगरी कान्ति न्यौपानेको हकमा उनले जवाफ दिएकी हुन्।

’मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा नै थिएन। माधव कमरेडले पत्रसहित पटक–पटक फोनमा यी कान्ति न्यौपाने अष्ठलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौं, कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिऊँला भनेर ल्याएको हो। जसरी पनि कतैबाट  मिलाएर तलव खुवाउनु, राख्नु भन्नुभयो’, उनले भनेकी छन्, ’पार्टी नेताको आदेश त मान्नै पर्यो, तर तलब कहाँबाट खुवाउनु?’



रामकुमारीको स्पष्टीकरण जस्ताको तस्तै

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्रसहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौं र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट  मिलाएर तलव खुवाउनु  राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्यो तर तलव कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन।

मैले पाउने  दुईजना ड्राइभर गाडी चलाउनु पर्यो, दुईजना सहयोगी मेरो परिवारका लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एकजनाको तलव पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुईजना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो।

त्यसैले मैले मंसिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ। पहिलो कुरा तलब दिने ठाउँ छैन, दोश्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस्, मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी, त्यसैले उनलाई मैले निकाल्नु पर्यो।


कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन कि, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आजसम्मको कामका लागि धन्यवाद! अब मलाई सहयोग गर्न आउनु पर्दैन भनेको थिएँ।

मैले त एक महिना पनि सहयोग गरेको पाइनँ। उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीका नाममा तलव माग्न मिल्छ? म बसुन्जेल मेरो काम गरेको विवरण लिएर आउनुस्, म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेराविरूद्ध फेसबुकमा स्टाटस लेखेवापत तलव कसरी दिने?


Share:
Reaction :
ताजा समाचार
खेलकुद