काठमाडौँ । आगामी फागुन २१ को आम चुनाव नजिकिँदै गर्दा दलहरुबीचको ध्रुवीकरण झनै पेचिलो बनेको छ ।
सोमवार मात्रै रेशम चौधरीले राजेन्द्र महतो र अशोक राईसँग एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निर्णय गरेकै दिन रेशमपत्नी रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी छन् ।
रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको हो । दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ । यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
एकीकृत पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिँदै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ । मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै क्षेत्रबाट संघर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् ।
यसैगरी, वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै नयाँ पुस्ताको भावना र राष्ट्रको हित अनुकूल संविधान संशोधन र परिमार्जनका लागि पहल गर्ने सहमति समेत भएको छ ।
विशेष गरी नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएको टीकापुर घटनाको विषयलाई पनि सहमतिमा समेटिएको छ ।
सहमतिपत्रमा टीकापुर घटनाका सन्दर्भमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख छ ।