रास्वपामा स्वार्थ समूह सक्रिय, समानुपातिकमा कलाकारको जम्बो टोली


खबरस्टोरी संवाददाता
१५ पुष २०८२, मंगलवार
रास्वपामा स्वार्थ समूह सक्रिय, समानुपातिकमा कलाकारको जम्बो टोली

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कलाकारदेखि मिस नेपालसम्मलाई उम्मेदवार बनाएको छ । 

निर्वाचन आयोगको कार्यालयमा सोमवार बुझाएको समानुपातिकको बन्द सूचीमा दर्जन बढी कलाकारहरुलाई समेटेको छ । 

चर्चित कलाकार प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीमा दलित कोटाबाट उम्मेदवार बनाइएको छ । दलित कोटाबाटै चर्चित प्रस्तोता रिमा विश्वकर्मालाई पनि समानुपातिक सूचीा राखेको छ । 

विश्वकर्मा पछिल्लो समय उज्यालो नेपाल पार्टीबाट रास्वपामा समाहित भएकी हुन् । 

यस्तै, कलाकार सत्यकला राईलाई पनि रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । गायिका सत्यकलालाई महिला आदिवादी जनजातिको सूचीमा उम्मेदवार बनाइएको छ । 

यसअघिदेखि नै रास्वपामा सक्रिय रहेका नेपाली सिने क्षेत्रका कलाकार आशिफ शाह पनि रास्वपाको समानुपातिक उम्मेदवारमा समेटिएका छन् । आशिफ पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहसँग म्युजिक भिडियो बनाउन सक्रिय थिए । म्युजिक भिडियोको सहकार्यबाट नजिकिएका उनैले बालेनलाई रास्वपामा लैजान ठूलो मेहनत गरेका थिए । आसिफ रास्वपाको समानुपातिकको बन्द सूचीमा मुश्लिम कोटाबाट पहिलो नम्बरमा परेका छन् ।

यस्तै, रास्वपाले पूर्व मिस नेपाल अनुष्का श्रेष्ठलाई पनि समानुपातिक उम्मेदवार बनाएको छ । सन् २०१९ कि मिस नेपाल अनुष्का जनजाति कोटाको महिला क्लष्टरबाट उम्मेदवार बनाइएको छ । रास्वामा कलाकार लगायत विभिन्न क्षेत्रका चर्चित अनुहारलाई पार्टीमा समानुपातिकको टिकट दिएर आकर्षित गरेको छ ।

प्रत्यक्षतर्फ पनि टिकट पाउने अभिलाषामा थुप्रै चर्चित अनुहारहरु रास्वपा प्रवेश गरेका छन् । पछिल्लो समय राजीव खत्री लगायत सेलिब्रिटी टेलिभिजन पत्रकारहरु पनि रास्वपा सभापति रवि लामिछानेसँग सांसदको टिकट फिक्स गरेर रास्वपामा लागेका छन् ।

रास्वपाको लहर देखिएपछि ठूलो संख्यामा स्वार्थ समूहहरु आकर्षित भइरहँदालाई सबैलाई मिलाएर लैजान रास्वपा कति सफल होला, प्र्रतिक्षाको विषय बनेको छ ।