काठमाडौं । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गर्दै १८ पदमा ४४ जनाको आवेदन परेको जनाएको हो ।
सार्वजनिक सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यद्यपी एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
उम्मेदवारीमाथि यही पुस २४ गते उजुरी दिन सकिने यही २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।