काठमाडौं । राष्ट्रियसभा सदस्यक लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुकाबारेमा निर्वाचन आयोगले छानबिन शुरु गरेको छ ।
आगामी माघ १२ गते राष्ट्रियसभाका १९ सदस्यका लागि हुने निर्वाचनका लागि पुस २० गते ४३ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनले १९ पदमा मिलेर उम्मेदवार मनोनयन दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबै पदमा एकल उम्मेदवार दर्ता गराएको छ ।
प्रदेश १ बाट महिला, अपाङ्गता भएका वा अल्पसंख्यक र अन्य गरी ३ पदमा ८ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश २ मा महिला र अन्य गरी २ पदमा ५ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, बाग्मती प्रदेशमा पनि महिला र अन्य गरी २ पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशमा महिला, दलित र अन्य गरी ३ पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेशमा पनि महिला, दलित र अन्य तीन पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका ब्यक्ति वा अल्पसंख्यक र अन्य तीन पदमा ६ जनाको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि महिला, दलित र अन्य तीन पदमा ६ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले विहीबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले पुस २४ गते शनिवार उम्मेदवारले नाम फिर्ता लिन चाहेमा समय दिएको छ भने पुस २५ गते आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
माघ १२ गते हुने मतदानमा प्रदेशसभा सदस्यहरु, नगर तथा महानगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले भाग लिनेछन् । राष्ट्रियसभा निर्वाचनका लागि २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।