Media Network

रास्वपा सभापति रवि लामिछाने थुनामुक्त


खबरस्टोरी संवाददाता

३ पुष २०८२,बिहीबार

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

बिहीबार न्यायाधीश द्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई माग दाबी अनुसारको बिगो र धरौटी बापतको बैंक ग्यारेन्टी पेस गरेमा थुनामुक्त गर्न आदेश दिएको हो । तर, अदालती प्रक्रिया र कार्यालय समय सकिएका कारण उनी शुक्रबार मात्रै छुट्ने छन् । 

अदालतले रिहाको आदेश दिए पनि प्रक्रियागतका कारण लामिछानेले थप समय कुर्नुपर्ने भएको हो । जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार रवि थुनामुक्त हुनका लागि उच्च अदालतको आदेशको प्रमाणित कपी जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

बिहीबार आदेश आउँदासम्म कार्यालय समय सकिसकेकाले उक्त पत्र शुक्रबार मात्रै जिल्ला अदालतमा दर्ता हुनेछ । पत्र प्राप्त भएपछि जिल्ला अदालतले रविले बुझाउने भनेको बिगो बापतको दामासाही रकम र धरौटीको बैंक ग्यारेन्टी ‘रुजु’ गर्नेछ ।

जिल्ला अदालत रुपन्देहीले कागजात रुजु गरेपछि मात्र नख्खु कारागारलाई पत्राचार गर्ने वा लामिछानेलाई उपस्थित गराउन आदेश दिने रविका कानुनी सल्लाहकार अधिवक्ता डा. नारायणदत्त कँडेलले बताए । त्यसपछि कारागार प्रशासनले उनलाई जिल्ला अदालतमा पेस गर्नेछ ।

लामिछानेले ‘पछि फैसलामा ठहरे बमोजिमको बिगो र जरिवाना बुझाउन मञ्जुर छु’ भन्ने ब्यहोराको कागजमा हस्ताक्षर गरेपछि मात्र उनी तारिख लिएर रिहा हुनेछन् । उच्च अदालतले रविलाई छाड्न पीडितको बचत फिर्ताको सुनिश्चिततालाई मुख्य आधार बनाएको छ ।

‘बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत सर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनू।’ आदेशमा भनिएको छ । लामिछानेले आफू कार्यरत रहँदा सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये आफ्नो भागमा पर्ने रकमको बैंक ग्यारेन्टी राखेर पुर्पक्ष गर्न पाउँ भनी निवेदन दिएका थिए । 

उच्च अदालत तुल्सीपुरको आदेशपछि रवि छुट्ने भन्दै उनका समर्थकहरु विहीबार रातीसम्म नै नख्खु कारागारमा जम्मा भएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद