रविले खोजे बालेनको साथ, प्रधानमन्त्री बनाउने आश्वासन


खबरस्टोरी संवाददाता
८ पुष २०८२, मंगलवार
रविले खोजे बालेनको साथ, प्रधानमन्त्री बनाउने आश्वासन

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको साथ खोजेका छन् । 

७९ सालमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा मेयर निर्वाचित भएका बालेनको कुनै राजनीतिक दल नभए पनि नव युवा पुस्ताको राम्रो साथ रहेको छ । भदौ २३ र २४ को जेन्जी आन्दोनलमा बालेनकै स्टाटसका आधारमा युवाहरु परिचालन भएको दाबी गरिएको छ । यद्यपी बालेनले आफू जेनजी नभए पनि सेप्टेम्बर ७ को आन्दोलनप्रति ऐक्यवद्धता रहेको जनाएका थिए । 

जेनजी आन्दोलनपछि बालेनले संसद विघटनको प्रस्तावदेखि प्रधानमन्त्रीमा सुशीला कार्कीको समर्थन पनि गरेका थिए । आन्दोलनपछि देशमा रिक्तता हुँदा युवाहरुले बालेनलाई प्रधानमन्त्रीको समेत अफर गरेका थिए । 

सञ्चार माध्याममा बोल्न नचाहने र महानगरमा रवाफ देखाउने बालेनको सामाजिक सञ्जालमा लेखेको सामान्य स्टाटस पनि लाखौंले मन पराउने गरेका छन् । 

बालेनप्रति ठूलो युवा शक्ति रहेको देखेर नै रास्वपा सभापति रवि लामिछानेले आगामी चुनावमा बालेनको साथ खोजेका हुन् । रविले बालेनलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर रास्वपामा समेट्न खोजेका हुन् । रविको सहकारी ठगी प्रकरणको मुद्दा नसकिएको कारण पनि कानूनी झमेला हुन सक्ने भएकाले बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न खोजेको रास्वपा स्रोतले बताएको छ । 

सोही प्रयास स्वरुप सोमबार बालेन र रविबीच करिब ७ घण्टा लामो वार्ता भएको थियो ।